|  

विश्वव्यापी चुनौतीको समाधानका लागि सामूहिक ऐक्यबद्धताको आवश्यकता

२१ असार, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कठिन विश्वव्यापी परिस्थिति गुज्रिरहेकाले  विश्वव्यापी एकताका लागि आग्रह गरेका छन्।

राजधानी अस्तानामा आयोजित एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वव्यापी चुनौतीको समाधानका लागि व्यक्तिगत प्रयासभन्दा सामूहिक ऐक्यबद्धताको आवश्यकतामा जोड दिएका हुन् ।  उनले उग्र युद्ध, भूराजनीतिक विभाजन र दण्डहीनताको समस्यातिर औंल्याउँदै भने,‘ यी विश्वव्यापी चुनौतीलाई कुनै पनि राष्ट्रको एकल पहलमा समाधान गर्न सकिँदैन ।’ महासचिवले विश्वव्यापी रूपमा दिगो विकास र मानव अधिकारको उपभोगका लागि शान्तिको वकालत गर्दै संयुक्त राष्ट्रसङ्घको बहुपक्षवादको केन्द्रीय भूमिकालाई उल्लेख गरे। उनले गाजा, युक्रेन र अफगानिस्तानजस्ता द्वन्द्व क्षेत्रमा तत्काल मानवीय युद्धविराम र समावेशी शासनका लागि आग्रह गरे।

त्यस्तै, जलवायु सङ्कटलाई सम्बोधन गर्दै गुटेर्रेसले महत्त्वाकाङ्क्षी उत्सर्जन कटौती र जलवायु न्यायको आवश्यकतामा जोड दिँदै भने, ‘जलवायु परिस्थिति बिग्रिँदैछ, यसले पानी र खाद्य सुरक्षालाई खतरा पुर्‍याइरहेको छ र राजनीतिक अस्थिरतालाई बढावा दिइरहेको छ।’ उनले विकसित देशहरूलाई जलवायु कार्यलाई समर्थन गर्न नवीन वित्तीय संयन्त्रहरू अवलम्बन गर्न आग्रह गरेका छन्।