|  

त्रिविमा कुनैपनि पदका उम्मेदवारलाई दलको सदस्य नभएको स्वघोषणा अनिवार्य

२१ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ ।

विश्वविद्यालयले सार्वजनिक गरेको त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१’ मा कुनै पनि पदको उम्मेदवारले दलको सदस्य नभएको स्वघोषणा अनिवार्य गरिएको छ । अहिलेसम्म नियुक्तिसम्बन्धी मापदण्ड नहुँदा राजनीतिक भागबन्डा हुने गरेको थियो । तत्कालीन उपकुलपति धर्मकान्त बास्कोटाको पालामा कीर्तिपुर केन्द्रीय विभाग प्रमुखहरूको नियुक्ति सम्बन्धी विनियम बनाएका थिए, जसले ‘वरिष्ठतम शिक्षकहरू मध्येबाट विभागीय प्रमुख हुने,’ व्यवस्था गरेको छ । त्यस बाहेकका पदमा गरिने नियुक्तिबारे मापदण्ड भने बन्न सकेको थिएन । प्रा.डा. केशरजंग बराल उपकुलपति भएपछि डिन, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक, प्रिन्सिपल र क्याम्पस प्रमुख नियुक्तिसम्बन्धी विनियम ल्याएको छ ।

विनियमले हरेक पदको नियुक्तिका लागि इच्छुक उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषण गर्नुपर्नेछ ।