|  

सेबोनको अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिन सर्वोच्चको आदेश

२१ असार, काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवादमा सर्वोच्च अदालतको संयुक्त इजलासले एकल इजलासबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय सुनाएको छ।

न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजालासले शुक्रबार सेबोन अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिन आदेश दिएको हो। गत असार १८ गते अदालतले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही मुद्दामा शुक्रबार बसेको न्यायाधीश मल्ल र ढकालको संयुक्त इजालासले नियुक्ति प्रक्रियालाई निरन्तरता दिन आदेश दिएको हो ।

सर्टलिष्टमा परेका सन्तोष नारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्द रिट दायर गरेका थिए । श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।अध्यक्ष छनोट समितिले पाँच जनामध्ये तीन जना अन्तार्वार्तामा नआएपछि प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणका लागि उपस्थित भएका थिए ।

तर, बोर्डका अर्का कार्यकारी निर्देशक डा। नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्तामा अनुपस्थित थिए । त्यसपछि सरकारले प्रक्रिया नै रद्द गरेको थियो ।