|  

सेतीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीका ६० परिवारलाई सुरक्षित स्थानमा सारियो

२३ असार, काठमाडौं । सेती नदीमा जलस्तर बढेर बाढी बस्तीमा पस्न थालेपछि सिगास गाउँपालिकाका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सिगास गाउँपालिका-५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको हो । सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुङ्गाडका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको हो । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको हो ।

नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका हुन् । सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका-५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा नं ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा परेका बताइएको छ ।