|  

नारायणी नदीमा फसेका २ जनाको सकुशल उद्धार

२३ असार, काठमाडौं । नारायणी नदीको भंगालोमा फसेका दुई जनाको गय राति सकुशल उद्धार गरिएको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले गैंडाकोट नगरपालिका-५ बस्ने ५० वर्षीय ओम बहादुर गुरुङ र ४२ वर्षीय खुमबहादुर गुरुङलाई उद्धार गरेको हो । बाढीमा फसेका अर्को ३५ वर्षीय रमेश बोट भने आफैं पौडिएर निस्किएका थिए । उनीहरु नवलपरासीको गैंडाकोट नगरपालिका-६ बुटवलबजारस्थित नारायणी नदीमा माछा मार्ने क्रममा फसेका थिए । घटनाबारे जानकारी पाए पश्चात् सशस्त्र प्रहरी बल नेपाल नं.३१ गुल्म पूर्वी नवलपरासीबाट १५ जनाको टोली खटाइएकोमा उद्धार हुन नसकेपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरको टोली पठाइएको थियो ।

गोताखोरको टोलीले पाँच घण्टाको प्रयासपछि गय राति सवा १० बजे सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।