|  

देशभर हालसम्म बाढी, पहिरो र डुबानमा परी १४ जनाको ज्यान गयो

२३ असार, काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको ज्यान गएको छ । भने तीन जना बेपत्ता भएका छन् ।

बाढी पहिरो लगायतका विपद्जन्य घटनामा परेर १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एक जना रहेका छन् । हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुङ्गामा दुई जना, काठमाडौँमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका छन् ।

बाढी र पहिरामा परी बेपत्ता हुनेमा दोलखा गौरीशङ्कर गाउँपालिका-९ का जाङ्मु शेर्पा, दाङको राजपुर गाउँपालिका-२ का राजकुमार यादव तथा स्याङ्जा भिरकोट नगरपालिका-५ ज्यामिरेकी खेमकुमारी मल्ल रहेका छन् । भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा आज पनि प्रहरीले गस्ती तथा अनुगमन जारी राखेको छ । देशैभर तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी उच्च सतर्कताका साथ प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।