|  

माओवादीः कसैले चाहँदैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन 

२३ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसदले कसैले चाहँदैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी सांसद लेखनाथ दाहालले संविधानानुसार प्रधानमन्त्री अघि बढ्ने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सरकारलाई दिएको समर्थन फिर्तापछि एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक अधिकार भएको पनि बताए । उनले भनेका छन्,‘सरकारलाई समर्थन दिइसकेको राजनीतिक दलले विशवासको मत छैन भनेर फिर्ता लिइसकेपछि सरकारले महिना दिनभित्र विशवासको मत लिने संवैधानिक प्रावधान छ । असार २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ । संवैधानिक प्रावधानानुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो ? कसैले चाहँदैमा राजीनामा आउँदैन ।’

उनले संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने भन्दै ‘अनैतिक र भ्रष्टहरू’ले नैतिकताको पाठ सिकाउन जरुरी नभएको बताए ।