|  

'भुटानी र गिरिबन्धु प्रकरण ढाकछोप गर्न एमाले-कांग्रेसको सहकार्य' ?

२३ असार, काठमाडौं ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टी इस्टेट प्रकरण ढाकछोप गर्न कांग्रेस-एमालेबीच सहकार्य गरिएको हो भनेर प्रश्न उठाएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्यस्ता काण्डहरूबाट आफूलाई चोख्याउन कांग्रेस-एमालेले नयाँ सत्ता समीकरण बनाएको भए जनतालाई मान्य नहुने बताएका हुन्। 

‘यदि भ्रष्टाचारलाई छामछुम पार्न, भुटानी शरणार्थीको काण्डमा र गिरिबन्धु टी इस्टेटको काण्डमा दुई वटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न,’ उनले भने।

उनले एमालेले सरकारको नेतृत्व गर्ने भन्नेकुराप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। संसदको ठूलो दल कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो। 

‘मैले एक वर्ष पहिले नै भनेको थिएँ–तपाईंहरू संसदीय व्यवस्था मान्नु हुन्छ, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नुपर्दैन थ्यो? किन यसबेला आएर बल्ल निन्द्रा खुल्यो,’ उनले भने, ‘त्यो पनि सबभन्दा ठूलाले होइन, माइलो पार्टीले गर्दैछ। यसमा पनि दालमा काला हे।’