|  

नयाँ गठबन्धनप्रति झलनाथको ब्यङग्यः ‘हामी कुबेलामा सनही बजाउँदैनाै’

२३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारका नाममा कांग्रेस-एमालेले राष्ट्रिय सहमतिको फजुलको कुरा गरेको टिप्पणी गरेका छन् ।

आज केन्द्रीय कमिटीको बैठकपछि पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग खनालले यस्तो बताएका हुन् । कांग्रेस-एमाले मिलेर सरकार बनाउने र केही आफूलाई सुरक्षित गर्नुपर्छ भन्ने पार्टीहरूले साथ दिन सक्ने उनको भनाइ छ । खनालले संसदीय व्यवस्थामा सामान्यतया बहुमत पुग्नेको सरकार बन्ने गरेपनि कुनै पनि देशका मुख्य मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटंकीजस्तै रहेको टिप्पणी गरे । नयाँ गठबन्धनमा सहभागी हुने कुनै गुञ्जायस नरहेको उनको प्रष्टोक्ति छ। ठूला पार्टीका नेतामा रहेको असक्षमता र अयोग्यताका कारण देश अस्थिरताबाट गुज्रिरहेको उनले दाबी गरे ।

नयाँ गठबन्धनलाई समर्थनको सम्भावनाबारे सोधिएको प्रश्नमा खनालले भने,‘हामी कुबेलामा सनही बजाउँदैनाैँ। जतिबेला बिहेबारी हुन्छ त्यतिबेला सनही बजाउने हो । जतिबेला लास लिएर हिँड्ने बेला हुन्छ त्योबेला अरु नै कुरा बजाउने हो । ’