|  

प्रधानमन्त्रीले मनाए जन्मदिन, बाबुले लगाइदिए टीका  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औ जन्मोत्सव मनाएका छन् । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा जन्मोत्सव मनाएका हुन् ।  

उनी ७० वर्ष पुगेका छन्। जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवास पाहुनाले भरियो । प्रधानमन्त्री ओलीलाई बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिएर आशिर्वाद दिए । 

परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको शुभकामना दिन बालुवाटार पुगे । प्रधानमन्त्रीलाई अधिकांशले सामाजिक सञ्जालमा शुभकामना दिएका छन् ।

यस्तै, उनले नेवारी संस्कृतिअनुसार जन्मदिनको सगुन लिए । २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा प्रधानमन्त्री ओलीको जन्म भएको हो । बाबु मोहनप्रसाद ओली ९१ वर्षमा हिंडिरहेका छन् । आमा मधु भने दिवंगत भइसकेकी छन् । मोहनप्रसाद र मधुका ओली पहिलो सन्तान हुन् । प्रधानमन्त्री ओली सानै हुँदा आमाको देहान्त भएको थियो ।