|  

मनसुनजन्य विपद्‌मा परी हालसम्म ६२ जनाको ज्यान गयो

२३ असार, काठमाडौं । मनसुन भित्रिएयता मनसुनजन्य विपद्‌मा परी अहिलेसम्म ६२ जनाको ज्यान गएको छ भने चार जना बेपत्ता छन् ।
राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रका अनुसार ९० जना घाइते भएका छन् ।  केन्द्रका अनुसार बाढीबाट नौ जना, पहिरोमा परी ३४ जना र चट्याङबाट १९ जनाको ज्यान गएको छ। त्यस्तै, बाढीमा बगेर दुई जना  र पहिरोमा परी दुई जना हराइरहेका छन् ।
बाढीमा बगेर १७ जना, पहिरोमा परी ३८ जना र चट्याङ लागेर देशका विभिन्न भागमा ३५ जना घाइते छन्। बाढी र पहिरोबाट आजसम्म आठ करोड ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यस वर्षको मनसुन अवधिमा ४ लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्‌मा पर्ने आँकलन गरिएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिएका छन्।

गत जेठ २८ गते पूर्वी भेगबाट मनसुन भित्रिएको थियो। लगत्तै पूर्वी पहाडमा बाढी र पहिरोले धनजनको क्षति गरेको थियो। पछिल्लो पटक दुई दिनयता देशभर मनसुनी विपद्ले जनधनको क्षति हुनुका साथसाथै पहाडमा बाढीपहिरो र तराईमा डुबानले जनजीवन प्रभावित भएको छ। बाढी र पहिरोका कारण देशभरका ४४ वटा राजमार्गमा क्षति पुगेको छ। पहिरो पन्छाएर १७ वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै, २७ वटा राजमार्ग अवरुद्ध छन्। केही राजमार्ग सञ्चालनमा ल्याउन साता दिन नै लाग्ने प्रहरीले जनाएको छ।