|  

प्रधानमन्त्रीको व्यंग्य– ‘प्रचण्डजीहरु अब  हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुपर्ने होला’  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा नेकपाभित्र प्रधानमन्त्री बन्ने व्यक्ति नै नदेखेको बताएका छन् । मंगलबार नेकपा ओली समूहसम्वद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपालतर्फ लक्षित गर्दै भने, ‘कहिले उत्तरतिर लाग्नुहुन्छ, कहिले दक्षिणतिर लाग्नुहुन्छ र प्रधानमन्त्री भइदिनुस् न, मानिदिनुस् भन्नुहुन्छ । उहाँहरुको कुनै सम्भावना छ प्रधानमन्त्री हुने ? विल्कुल छैन ।’

उनले अगाडि थपे, ‘उहाँहरुले लडाईं जित्नुभयो भने प्रधानमन्त्री खोज्दै हिँड्नु पर्ने हो । खोज्दै हिँड्दा अन्तिममा म कहाँ आइपुग्न बेर छैन ।’ प्रचण्ड–माधव नेपाल बहुमत भएको पार्टी फुटाउने, आफ्नै प्रधानमन्त्री हटाउने र अर्को प्रधानमन्त्री खोज्दै हिँड्ने खेलमा लागेको भन्दै ओलीले अदालत मुलुकलाई त्यस्तो अस्थिरतातिर जान दिन्छ होला भनेर विश्वास गर्न नक्ने तर्क गरे । 

प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना भयो भने मुलुकमा अस्थिरता आउने जिकिर समेत गरे । उनले ओलीले संसद पुनःस्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई राम्रोसँग थाहा रहेको बताए । यदि संसद पुनर्स्थापना भयो भने प्रचण्ड र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुपर्ने भन्दै उनले व्यंग्य गरे ।