|  

कोशी प्रदेश लोकसेवाको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईं

२३ असार, काठमाडौं । नेपाल सरकारका पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईं कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन्।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सिफारिस समितिको बैठकले उनको नाम प्रदेश प्रमुख पर्शुराम खापुङसामु सिफारिस गरेको हो।

लामो समय निजामती सेवामा काम गरेका गुरागाईंसँग लोकसेवा आयोगमा काम गरेको अनुभव छ। दुई वर्ष अघि अवकाश लिएका उनी मोरङको मंगलबारेका बासिन्दा हुन्। 

सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी व्यवस्था छ। प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगको अध्यक्षको अवधि ६ वर्षको हुन्छ। यस अघिका अध्यक्ष उत्तम भट्टराईले उमेर हदका कारण अवकाश पाएका थिए।