|  

तत्काल नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीलाई एमाले सांसदको अनुरोध !

२४ असार, काठमाडौं । नेकपा एमालेका सांसद विद्या भट्टराईले नागरिकहरूका समस्या समाधानका लागि तत्काल नयाँ सरकार गठन हुनुपर्नेमा जोड दिएकी छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले प्राकृतिक प्रकोपबाट मुलुक अस्तव्यस्त हुँदा पनि सरकार कहाँ छ? भन्ने प्रश्न उठेको बताइन्। त्यस्तै एमालेका सांसद ठाकुर गैरेले तत्काल नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरे। उनले मुलक प्राकृतिक प्रकोपको बिपतीमा परेको भन्दै मुलुकको समस्या समाधानका लागि नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन अनुरोध गरेका हुन् । उनले लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि एक सेकेण्ड पनि सरकारका बस्ने नैतिक आधार नरहने धारणा राखे । उनले वर्षा शरु भएको छोटो समयमा नै ठूलो जनधनको क्षति भएको र जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको आरोप लगाए ।

त्यस्तै सांसदहरूले बाढी पहिरोमा बेपत्ता भएकाहरूको खोजी, घाइतेको निःशुल्क उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनीहरुले बाढी पहिरोबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माण गर्दै सहज आवतजावतको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।