|  

आजदेखि मुलुकको अधिकांश भू-भागमा वर्षा कम हुने पूर्वानुमान

२४ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानेछ । भने मुलुकको अधिकांश भू-भागमा वर्षा कम हुने पूर्वानुमान गरिएको छ ।

विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको बताए । उनले मधेस, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए ।

साथै वर्षाका कारण भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै खहरे खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सरोकार भएका सबैलाई विभागले अनुरोध गरेको छ ।