|  

म्याग्दीमा विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयको कक्षा घटुवा

२४ असार, काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटाएको छ ।

सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको हो । कक्षा घटुवा हुने अधिकांश विद्यालय आधारभूत तहका रहेका छन् । जसमा चेतना आधारभूत विद्यालय, पद्यमबराह आधारभूत विद्यालय, ढोलथान आधारभूत, हंशबाहिनी आधारभूत विद्यालय, गणेश आधारभूत विद्यालय, जगन्नाध आधारभूत विद्यालय रहेको छ ।

यसैवीच, बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै जानुलाई चुनौतीका रूपमा लिएको बताएका छन् । उनले कक्षा सञ्चालनका लागि विद्यार्थी नभएपछि गत शैक्षिक वर्षमा ११ विद्यालयको तह समायोजन ‘कक्षा घटुवा’ पनि जानकारी दिए ।

समायोजन भएका विद्यालयका विद्यार्थीलाई नजिकैको अर्को विद्यालयमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको र नजिकै अर्को विद्यालय नभएका ठाउँका बालबालिका शिक्षाबाट वञ्चित नहोउन् भनेर कक्षा समायोजन नगरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । उनका अनुसार तीव्र बसाइसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् । साथै विषयगत शिक्षक नपाउनु पनि अर्को समस्या भएको उनको भनाई छ ।