|  

दुर्घटनापछि फरार तीन मोटरसाइकल पक्राउ

२४ असार, काठमाडौं । अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि फरार रहेका तीन जना मोटरसाइकल चालकलाई पक्राउ गरिएको छ।

असार १५ गते काठमाडौं महानगरपालिका–१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि भागेका राइडरहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्ला घर भई तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असार १५ गते राति साढे ९ बजे गोर्खा सिरानचोक–२ की अनु गुरूङ ललितपुर महानगरपालिका–२३ हात्तीवन जान लागेकी थिइन् । उनीसहित तीन जना साथीहरू गोंगबुबाट हात्तीवन जान लागेका थिए । तेज रावलसहित तीन जनाले अफलाइन राइड गरी अनुसहितलाई लग्दै थिए । जमल पुग्दा तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सरबाट अनु खसेकी थिइन् ।मोटरसाइकलबाट खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको सिबिएट मोटरसाइकलले अनुलाई ठक्कर दिएको थियो । ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा असार १८ गते उनको मृत्यु भएको थियो ।

दुर्घटना भएपछि अफलाइन राइडरहरू घटनास्थलबाट फरार भएका थिए । पछि प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त अपरेसन गरी तीन जनालाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।