|  

यो पटक प्रधानमन्त्री हुँदा देश र जनताका लागि हुनुस् : प्रदीप पौडेल

२४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुन आग्रह गरेका छन् । 

संसद भवन बाहिर सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्नेगरी काम गर्न आग्रह गरेका हुन्  ।

सांसद पौडेलले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तरार्द्धमा रहेकाले देश र जनताको लागि काम गर्न आग्रह गरे ।

‘केपी ओलीज्यूलाई दुई वटा अवसर प्राप्त भएको छ । दुई तिहाइको प्रधानमन्त्री हुनुभयो, त्योभन्दा अघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त गर्‍यो भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन’, उनले भने, ‘उहाँ जीवनको र राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । परिस्थितिले उहाँले फेरि नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ । झन्डै दुई तिहाइले समर्थन गरेको प्रधानमन्त्री उहाँ हुँदै हुनुहुन्छ । म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस् । गुटको लागि नहुनुस् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा यो यो गर्नुभयो भनेर भन्ने सक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् ।’