|  

 देशको अहिलेको राजनीतिक अवस्था थप निराशाजनक : शंकर पाेखरेल

२४ असार, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको अहिलेको राजनीतिक अवस्था थप निराशाजनक भएको बताएका छन् । नेकपा एमाले सरकारबाट बाहिरिएपछि सरकारप्रति नागरिकको थप निराशा पैदा भएको पोखरेलले बताए ।

नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै पोखरेलले ‘एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रिय राजनीतिमा जुन प्रकारका प्रभाव छन् त्यो, निराशा पैदा गर्ने खालकै छ’, भने ।

चार महिना पहिला एउटा तरिकाबाट जान सकिन्छ कि भनेर पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिएको भए पनि सफल हुन नसकिएको पोखरेलले बताए । ‘पुष्पकमल दाहाल प्रचण्डको निराशा चिर्ने कुरामा खास रुचि देखिएन’, उनले भने ।

जनतामा निराशा, अर्थतन्त्रमा सङ्कट, समाजमा एक प्रकारको अराजकता पैदा भएको बेला त्यसलाई कसरी चिर्ने भन्ने कुरामा दाहालमा कुनै चिन्ता नदेखिएको उनले बताए । यद्यपि उनलाई सफल बनाउन एमालेले हदैसम्मको प्रयास गरेको पोखरेलले बताए ।

एमालेले प्रचण्डले छाडेका मन्त्रालय लिएर समेत उनलाई सहयोग गरेको पोखरेलले प्रस्ट पारे । आलोपालो सरकारको कुरा भएको भए पनि यो सरकारले राम्रोसँग काम गर्छ भने पुरै अवधि गर्दा पनि हुन्छ भनेको उनले स्मरण गराए । ‘निराशा चिर्नेतर्फ, परिणाम देखाउनेतर्फ उहाँले प्रयास गरेको देखिएन, सत्तामा रहने कुरामा रुचि ज्यादा देखियो, काममा रुचि देखिएन’, उनले भने ।

सामान्यतया परिस्थितिलाई बदल्ने भनेको सरकारको नीति, कार्यक्रम र बजेटले नै भएको पोखरेलले बताए । नीति, कार्यक्रम र बजेट बनाउँदा प्रचण्डले एमालेसँग कुनै परामर्श नै नगरेको उनले जानकारी दिए । एमालेले त्यस विषयमा कुरा गर्दा पनि उनले कुनै गाम्भीर्यता नदेखाएको पोखरेलले बताए । नीति, कार्यक्रम ल्याउँदा नै एमालेले कुरा उठाएपछि बजेट ल्याउँदा छलफल गर्नुपर्नेमा अझ बजेट ल्याउँदा मन्त्रीहरू नै सर्वेसर्वा भए जस्तो गरी काम गरेको उनले टिप्पणी गरे ।