|  

काठमाडौं महानगरद्वारा निःशुल्क खाना र खाजासहित एसइई पुरक परीक्षाको तयारी कक्षा सुरु

२५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा नन ग्रेडेड समूहमा परेका विद्यार्थीलाई निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन सुरु गरेको छ ।

महानगरपालिकाले आफूमातहतका सामुदायिक विद्यालयका शिक्षकलाई परिचालन गरेर सोमबारदेखि तयारी कक्षा सुरु गरेको हो । परीक्षा तयारीमा बसेका विद्यार्थीलाई महानगरपालिकाले खाना र खाजाका लागि पैसा दिने बताएको छ । महानगरपालिकाले सयजना शिक्षकको रोस्टर बनाएर कक्षा सञ्चालन सुरु गरेको हो ।

११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट एसइईमा ३ हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ३ हजार ८६ जना ग्रेडेड समूहमा परेका थिए ।सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् ।

त्यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना अनुत्तीर्ण भएका छन् । अंग्रेजीमा ९१ जना, लेखामा ७० जना, ऐच्छिक गणितमा ५८ जना, कम्प्युटरमा २० जना, जनसंख्यामा आठ जना अनुत्तीर्ण भएको महानगरपालिकाको तथ्यांकमा छ ।