२६ असार, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको हो। गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता छन् ।
घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन्। बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायाको क्षति भएको छ। यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको छ । वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन् ।
एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको छ। देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन्।