|  

सहकारी सञ्चालकको सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने पिडितहरुको माग

२६ असार, काठमाडौं । चितवनको सहारा सहकारी पीडितले आफूहरुको बचत रकम अपचलन गर्ने गोर्खा मिडिया प्रालिका सञ्चालकलाई संसदीय समितिले बयानका लागि बोलाउनुपर्ने माग गरेका छन् ।

आज सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिमा सहारा सहकारीका बचतकर्ता शालिग्राम दुवाडीले आफूहरुको बचत गरेको रकम गोर्खा मिडिया नेटवर्कमा लगेको बताए । तर गोर्खा मिडिया कम्पनीको नाम आउनेबित्तिकै प्रहरीले अनुसन्धान नगरेको बताए । उनले पश्न गरेका छन्,‘सहारा सहकारीको रकम गोर्खा मिडिया नेटवर्क लगायत विभिन्न कम्पनीमा ५१ करोड गएको छ । ती कम्पनीहरुलाई मुद्दा हाल्दा चितवन प्रहरीले रोकेको छ । गोर्खा मिडिया नेटवर्क प्रालिको नाम आउनेबित्तिकै मद्दा रोकिनुपर्ने हो, किन रोकियो मुद्दा, राज्य किन मौन हुन्छ ?’ सहारा सहकारीको रकम गोर्खा मिडियामा लैजाने जोसुकै भए पनि कारबाही हुनुपर्ने दुवाडीले बताए । 

त्यस्तै, ओरेन्टल सहकारीका पीडित खगेन्द्रनाथ काफ्लेले सहकारी बचतकर्ताको पैसा सहकारी सञ्चालकहरुले आफ्नो इच्छाले घर जग्गाहरुमा लगानी गर्ने र जग्गा अर्काको नाममा राखेर बचतकर्ताको पैसा सक्ने काम गरेको बताए । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पीडित चक्रबहादुर श्रेष्ठले सहकारीका सञ्चालक केदारनाथ शर्मा र गीता शर्माको नाममा रहेको २६ करोड रकमबाट १ लाख जना बचतकर्ताको रकम फिर्ता गर्न सकिने बताए ।

यमुना आइडल सहकारी पीडित दिनेश घिमिरेले सहकारी पीडितलाई सहकारी विभागले न्याय दिन नसक्दा प्रहरीकोमा गएको तर प्रहरीबाट पनि न्याय पाउन नसकेको बताए । इमेज सहकारी पीडत डिलबहादुर कार्कीले सहकारी सञ्चालकको सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने बताए ।