|  

काठमाडौँमा पानीको अभाव भएको सांसदहरुको गुनासो

२६ असार, काठमाडौं । राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अधिकांश सांसदहरुले काठमाडौंमा धाराको पानी पिउन नपाएको र लुगा धुन समस्या भएको गुनासो गरेका छन् ।

आजको बैठकमा उनीहरुले काठमाडौँमा पानीको अभाव भएको कुरा खानेपानीका क्षेत्रमा काम गर्ने मन्त्रालयदेखि विभिन्न निकायका पदाधिकारीहरूको ध्यानकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य बामदेव गौतमले मेलम्ची आयोजनामा नेपाली जनता र विदेशी दातृ निकायको गरी खरबौ रुपैयाँ डुबेकोले आयोजना सुरु गर्ने र सो काममा संलग्नलाई कारबाही गर्नुपर्ने बताए । उनले हाल मेलम्चीमा के भएको छ त्यसको स्थलगत अध्ययन गर्नुपर्ने उल्लेख गरे । 

सांसद विष्णुबहादुर विश्वकर्माले आफू काठमाडौँको नयाँ नैकापमा बस्ने तर धारामा पानी नआएका कारण लुगा धुन समस्या भएको बताए । उनले पिउने पानी किनेर खानुपर्ने अवस्था रहेको बताउँदै ३ दिनमा बल्ल बल्ल एक पटक पानी आउने र पानी लिन ठुलो लाइन लाग्ने गरेको गुनासो गरे । 

सांसद घनश्याम रिजालले काठमाडौँमा जनसङ्ख्या बढिरहेको, मेलम्ची खानेपानी आयोजना पनि भरपर्दो नभएकोले खानेपानी व्यवस्थापनका लागि मन्त्रालयले के सोचिरहेको छ भन्दै प्रश्न गरे । यस्तै सांसद अन्जान शाक्यले धारामा पानी नपठाउने तर शुल्क लिने कुरा कति जायज भन्दै प्रश्न गरिन् । उनले पानी नआउने धाराको शुल्क मिनाहा गर्न सकिँदैन भन्दै प्रश्न गरिन् । 
यस्तै सांसद जितजंग बस्नेतले वर्षौदेखि धारामा पानी नआए पनि शुल्क भने तिर्नुपरेको बताए । मेलम्चीको पानी निरन्तर आउने कुराको ग्यारेन्टी नभएको र काठमाडौँ उपत्यकामा कमसल तरिकाले मेलम्चीको पाइपलाइन बिच्छाएको कारण पानी चुहावटको समस्या रहेको बताए । सांसद तुलप्रसाद विश्वकर्माले पहिले नै त्रुटि गरेका कारण अहिले समस्या झेल्नुपरेको उल्लेख गरे ।

बैठकमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछाने, केयूकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल लगायतका पदाधिकारीहरूको उपस्थिति थियो । 
सांसदहरूको प्रश्नको जवाफ दिँदै खानेपानी सचिव सुरेश आचार्यले बामदेव गौतमले भनेजस्तो मेलम्ची आयोजनामा खरबौँ रुपैयाँ खर्च नभई झन्डै ६७ अर्ब पुगेको बताए । मेलम्चीको खानेपानीको हेडवर्क्समा करिब ८०–९० करोडको क्षति भएको भन्दै उपत्यकावासीलाई सबै महिना पानीको सुविधा दिने हो भने हेडवर्क्स  सार्नुको विकल्प नरहेको र त्यसका लागि २ अर्ब अनुदान दिन एसियाली विकास बैंक सहमत भएको जानकारी गराए । सो रकमले हेडवर्क्स सार्न, याङ्ग्री र लार्केको पानी ल्याउने अध्ययनका लागि खर्च पुग्ने बताए । 

उनले काठमाडौँ उपत्यकामा विभिन्न स्रोतबाट वर्षा याममा दैनिक १० देखि १२ करोड लिटर पानी वितरण गरिरहेको बताए । काठमाडौँमा मेलम्ची बाहेक पानी आपूर्तिका लागि चाँगुनारायणमा रहेको महादेव खोला र मकवानपुरमा रहेको सिस्नेरी खोलाबाट पानी ल्याउन सकिने सम्भावना रहेकोले त्यसलाई योजनाका रूपमा अघि बढाउन आवश्यक रहेकोमा जोड दिए ।