|  

सबै प्रयोगकर्ताका लागि गुगलको डार्क वेब मनिटरिङ निःशुल्क

२८ असार, काठमाडौं । यहि जुलाई देखिनै गुगलको डार्क वेब मनिटरिङ सेवा सबैका लागि निःशुल्क हुने भएको छ ।

प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत जानकारी वेबमा लिक भएको पत्ता लगाउन र सर्च रिजल्टबाट हटाउन प्रयोग हुने स्वचालित टुल कम्पनीले निःशुल्क बनाउन थालेको हो । प्रविधिको दिग्गज कम्पनी गुगलको डार्क वेब ट्रयाकिङ टुल यसअघि केवल गुगल वन अकाउन्ट भएका प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको थियो । गुगल वन प्रयोगकर्ताले विकसित एआई प्रविधिका साथै थप ईमेल तथा डकुमेन्ट स्टोरेज जस्ता अतिरिक्त फिचरको सब्सक्रिप्सनका लागि मासिक २० अमेरिकी डलरसम्म तिर्दै आएका छन् ।

छोटकरीमा भन्नुपर्दा प्रयोगकर्ता तथा सेवा प्रदायकको पहिचान अज्ञात हुने टोर वेब सर्भिस जस्ता विशेष खाले सफ्टवेयर प्रयोग गरी पहुँच बनाउन सकिने सेबसाइटहरूको नेटवर्क नै डार्क वेब हो । प्रायः अपराधिहरूले साइबर आक्रमणबाट चोरेका डेटा जस्ता अवैध सामग्रीको खरिद बिक्रीका लागि यस खाले सेवा प्रयोग गर्छन् । पछिल्ला वर्षहरूमा थुप्रै ह्याकिङका घटना हुँदै आएका छन् । जसबाट तपाईं हाम्रा व्यक्तिगत जानकारी थुप्रै पल्ट चोरी भएर बिक्री भएको हुन सक्ने सम्भावना उच्च छ । अझै पनि गलत व्यक्तिको हातमा रहेका महत्त्वपूर्ण पासवर्ड, सामाजिक सुरक्षा नम्बर अथवा तपाईंका परिवारका सदस्यहरूको नाम सहितको लिस्ट विभिन्न खाले ठगी कार्यमा प्रयोग हुन सक्छ ।

जसमा बैंक अकाउन्ट हातमा लिनेदेखि व्यवसाय सम्बन्धी गोप्य जानकारी हासिल गर्न कार्यालयसँग सम्बन्धित ईमेलमा पहुँच बनाउने सम्मका गतिविधि हुन सक्छन् । ह्याकरहरूले कहिलेकाहिं यस्ता सूचना बैंक अकाउन्ट खोल्न र अन्य व्यक्तिको नाममा ऋण निकाल्न समेत प्रयोग गरिदिन्छन् । यसबाट ऋणको पैसा आफूले कुम्ल्याउने र त्यसको बिल तथा दायित्व पीडितलाई बोकाउने गरिदिन्छन् । गुगलको निःशुल्क डार्क वेब रिपोर्टिङ टुल प्रयोग गर्न तपाईं गुगलको रिजल्ट अबाउट यु पेजमा जानु पर्ने हुन्छ ।त्यहाँ रहेको गेट स्टार्टेड बटनमा क्लिक गरेपछि गुगलले तपाईंको नाम, ठेगाना, ईमेल, फोन नम्बरसहित तपाईंले ट्रयाक गर्न चाहेका अन्य सूचना माग्छ । गुगलको भनाई छ कि उसले यसरी मागेका सूचना अरू कसैसँग शेयर नगर्ने र आफ्नै अन्य उत्पादनमा समेत प्रयोग गर्ने छैन ।

रिजल्ट अबाउट यु पेजमा रहेको सेटिङमा क्लिक गरेर तपाईंले गुगलको सिस्टमबाट आफ्नो सूचना हटाउन सक्नु हुन्छ । यसका लागि त्यहाँ गएर स्क्रिनको तल रहेको ट्रयाशक्यान आइकन अथवा रिमुभ अल कन्ट्याक्ट इन्फो बटनमा क्लिक गर्नुपर्ने हुन्छ । गुगलको निःशुल्क डार्क वेब मनिटरिङ टुल प्रविधि कम्पनीहरूले उपभोक्तालाई कसरी मद्दत गरिरहेका छन् र इन्टरनेट जीवनमा नियमित जसो भइरहने डेटा लिक र ह्याकिङ आक्रमणसँग जुध्न सघाइरहेका छन् भन्ने कुराको एउटा अर्को उदाहरण हो । गुगलको डार्क वेब ट्रयाकिङ टुलको अर्को लोकप्रिय विकल्प पनि छ, त्यो हो निःशुल्क रूपमा उपलब्ध ह्याभ आई बिन प्युड, जसले ह्याकरले डार्कवेबमा बिक्री गरिरहेका ईमेल एड्रेस, पासवर्ड र फोन नम्बर ट्रयाक गर्न सघाउँछ ।

त्यस्तै अर्को हो, क्रेडिट कर्मा, जसले परिचय ट्रयाकिङको बदलामा एफिलिएट विज्ञापन देखाउँछ । गुगलको निःशुल्क टुल भने एक कदम अगाडि गएको छ, किन भने रिजल्ट अबाउट यु पेजमा गएर अनुरोध गर्दा गुगलले त्यस्ता जानकारी सर्च रिजल्टबाट समेत हटाइ दिन्छ ।