|  

आईफोन ट्वेल्भका कारण एप्पल बन्यो सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी

१२ फागुन, काठमाडौं । आईफोन ट्वेल्भका कारणा मोबाइल फोनको विश्व बजारमा एप्पल सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी बनेको छ । हालै मात्र सार्वजनिक भएको सन् २०२० को चोथो त्रैमासिक अध्ययन प्रतिवेदनमा एप्पल पहिलो भएको हो ।

मार्केट ट्र्याकर कम्पनी गार्टनरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२० को चौथौ त्रैमासिकमा एप्पलले ७९।९ मिलियन अर्थात ७ करोड ९९ लाख थान आईफोन बिक्री गरेको छ ।

जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत बढी हो । यसरी मोबाइल बिक्री गर्नेमा पहिलो बनेको एप्पलले चौथो त्रैमासिक अवधिमा विश्व मोबाइल बजारमा २०।८ प्रतिशत हिस्सा ओगटेको छ ।

यससँगै कम्पनी सन् २०१६ को चौथो त्रैमासिक पश्चात पहिलो पटक सबैभन्दा बढी मोबाइल बिक्री गर्ने कम्पनी भएको हो । अर्को तर्फ सामसङको व्यापार भने घटेको छ ।

विश्वव्यापी रुपमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने टप ५ कम्पनी (हजारमा)

श्रोतः गार्टनर (फेब्रुअरी २०२१)
अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामसङको मोबाइल बिक्री ५।४ प्रतिशतले खस्केको छ । उक्त अवधिमा कुल ६ करोड २१ लाख मोबाइल सेट बिक्री गरेको कम्पनी १६.२ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा छ ।

गार्टनरका अनुसार सबैभन्दा बढी मोबाइल बिक्री गर्ने सूचिमा साओमी तेस्रो नम्बरमा छ । त्यसैगरी, ओप्पो चौंथो नम्बरमा रहेको छ ।जसको बजार हिस्सा क्रमशः ११.३ र ८.९ प्रतिशत रहेको छ ।

अर्को चिनियाँ कम्पनी ह्वावेलाई अमेरिकाले विभिन्न प्रविधि प्रयोगमा लगाएको प्रतिबन्धको असर परेको छ । ह्वावे ८.९ प्रतिशत बजार हिस्साका साथ पाँचौ नम्बरमा रहेको छ ।