|  

चम्पादेवी माविको पुनःनिर्माण सुरु, भारत सरकारको सहयोग

काठमाडौं । दक्षिणकाली नगरपालिकास्थित चम्पादेवी माध्यमिक विद्यालयको पुनःनिर्माण कार्य सुरु भएको छ ।  बुधबार मात्रै चम्पादेवी माध्यमिक विद्यालयको पुनःनिर्माणका लागि भूमि पूजन गरिएको छ । भूमि पूजनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृत विभागका प्रमुख नवीन कुमार तथा दक्षिणकाली नगरपालिकाका मेयर सरिक भए । 

उनीहरुले संयुक्त रुपमा भूमि पूजन गरे । भारत सरकारको आर्थिक सहयोगमा पुनःनिर्माण हुनलागेको  यो ६६औँ विद्यालय हो । नेपालका ८ जिल्लामा ७१ शैक्षिक संस्थाको पुनःनिर्माण गर्ने उद्देश्यका साथ  भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगको प्रतिवद्धता जनाएको छ । यो बाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनःनिर्माण परियोजनाका लागि भारतले थप २० करोड आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि गरिसकेको छ । 

नेरु ६ करोड ८५ लाखको लागतमा पुनःनिर्माण हुन लागेको यो चम्पादेवी माध्यमिक विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधि मापदण्ड अनुरुप निर्माण हुनेछ । नवनिर्मित संरचनामा दुई वटा ब्लक रहने छन् जसमा १३ वटा कक्षा कोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तल्लामा छात्र तथा छात्राका लागि छुट्टै सरसफाइ संरचना रहने छन् ।

यी विद्यालयको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनःनिर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

२०७२ सालको ‘गोरखा’ भूकम्पले क्षतिग्रस्त ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनःस्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माणका लागि भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ ।