|  

सर्वोच्चले अन्तरिम आदेश नदिएको भन्दै देउवालाई चुनावको आश   

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएले कारण चुनाव हुन्छ कि भन्ने आश लागेको बताएका छन् । 

कांग्रेसका नेता महेन्द्र नारायण निधिको ९९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले सर्वोच्चले अन्तरिम आदेश दिन्छ जस्तो लागेको तर, त्यस्तो नभएकाले आफुहरुलाई चुनाव हुन्छ भन्ने लागेको बताएका हुन् । 

यसकारण पनि संसद आफुहरुले प्रतिनिधि सभा पुनःस्थापना भएपनि मान्ने र चुनाव भएपनि स्वीकार्य हुने बताएको कुरा समेत सुनाए । सभापति देउवाले संसद पुनःस्थापना गर्ने सर्वोच्च फैसलाले प्रजातन्त्रको जित भएको धारणा पनि राखे ।

प्रचण्ड–माधव नेपालहरुले प्रधानमन्त्री ओलीको राजीनामा खोजिरहेका छन् । उनीहरुले प्रधानमन्त्रीले राजीनामा दिनसाथ कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाउने भन्दै एक चरण भेटवार्ता समेत गरिसकेका छन् । देउवाले शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनुपर्ने भनेका छन् । 

उनले अगाडि भने, ‘ओलीजीले संसदमा बहुमत जुटाउन सक्नुपर्छ, नभए छोड्दा राम्रो हुन्छ । तर यसो गर भनेर हामीले भन्ने होइन ।’ उनले, ‘नेपाल–प्रचण्डजीहरु कसरी जान्छन् ? नेकपा के हुन्छ ? भन्ने प्रष्ट नभएकाले अझै के हुन्छ भन्ने अन्योल कायमै छ’ पनि भनेका छन् । अब कसरी अगाडि बढ्ने भनेर छलफल गर्न संसदीय दलको बैठक बोलाउने समेत देउवाले जानकारी दिएका छन् ।