|  

विपिन जोशीलाई हमासबाट छुटाएर फिर्ता ल्याउँछु : परराष्ट्रमन्त्री राणा

३१ असार, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले अपहरण गरी बेपत्ता बनाएका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको खोजी गरिने बताएकी छन् । 

सोमबार दिउँसो परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले यस्तो बताएकी हुन् । 

यसअघिका परराष्ट्रमन्त्री एनपी साउद र नारायणकाजी श्रेष्ठले पनि जोशीको खोजीमा पहल गरेका थिए । तर दुवै मन्त्रीले विपिनको अवस्था पत्ता लगाउन सकेनन् ।

अब नयाँ परराष्ट्रमन्त्री राणाले पनि हमासले इजरायलमा आक्रमण गरेपछि अपहरण गरि बेपत्ता विपिनको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने बताइन् ।

कृषि अध्ययन गर्न इजरायल पुगेका विपिनको अहिलेसम्म अवस्था खुल्न सकेको छैन । गाजा क्षेत्रलाई इजरायली सेनाले करिब ध्वस्त बनाइसक्दा पनि विपिनसहित अपहृत डेढ सय बढीको अवस्था खुल्न सकेको छैन ।