०१ साउन, काठमाडौं । अभिनेत्री तथा नेतृ रेखा थापाले आफूले छोरीको अनुहार सामाजिक सञ्जालमा सार्वजनिक नगर्ने बताएकी छन् ।
प्रायः सेलिब्रेटी बच्चा जन्माउने बित्तिकै उनीहरुलाई सामाजिक सञ्जाल र मिडियामा एक्सपोज गर्न रुचाउँछन् । तर रेखाको धारणा यसको ठीक विपरीत छ । उनी यसलाई गलत बताउँछिन् । उनले दिएको एक अन्र्तवार्तामा उनले सानैदेखि छोरीलाई सेलिब्रेटी बनाउन दबाब नदिने बताइन । उनले भनेकी छन्,‘उसले आफैं पहिचान बनाउनुपर्छ । उसले आफ्नै बलबुतामा परिचय बनाउनुपर्छ । मेरो परिचय मेरो बच्चा र फेमिलीको लागि होइन ।’
बालअधिकार हनन गर्नु उचित नरहेको उनको भनाइ छ । यिनै कारण आफूले सामाजिक सञ्जालमा छोरी वैभवीको अनुहार नराखेको रेखाले बताइन् । छोरी आफ्नै पहिचानले चिनियोस् भन्ने उनको चाहना छ । केही समय छोरीलाई यी सबथोकबाट टाढा राख्ने उनले बताइन् । छोरीले आफ्नो हिसाबले हुर्किन पाउनुपर्ने उनको धारणा छ । साथै उनले आफूले मात्र नभएर कुनै पनि अभिभावकले साना बालबच्चाको अनुहार सामाजिक सञ्जालमा सेयर नगर्न पनि आग्रह गरिन ।