|  

१० वर्षपछि काठमाडौंमा पोलियो भाइरस फेला

५ साउन, काठमाडौं ।   काठमाडौंको टुकुचा र वाग्मती नदीको संगम क्षेत्रबाट संकलित ढलको नमुना परीक्षण गर्दा पोलियो भाइरस भेटिएको छ ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार उक्त नमुनामा ‘पोलियो भाइरस टाइप ३’ पुष्टि भएको हो । नेपालमा अन्तिम पटक सन् २०१० मा पोलियोको बिरामी फेला परेका थिए । त्यसयता भने पोलियो संक्रमित फेला नपरेका कारण विश्व स्वास्थ्य संगठनको दक्षिण एसिया क्षेत्रले २०१४ मा नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरेको थियो ।

पोलियो जीवाणु भेटिएसँगै उपत्यकामा पोलियो विरुद्धको खोप अभियान सञ्चालन हुने बताइएको छ । आउँदो ९ गतेदेखि १२ गतेसम्म पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी छ । खोप शाखाकाअनुसार जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप खुवाउनेछ ।

पोलियो भाइरसबाट सङ्क्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरहरुकाअनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।