|  

पाल्पामा ७४ जनामा डेंगु संक्रमण

६ साउन, काठमाडौं । पाल्पामा यो वर्ष ७४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लाभित्रका ४२ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३२ जना गरी सो संख्यामा डेंगु संक्रमण पुष्टि भएको हो । जिल्लाका विभिन्न स्थानीय तहहरु र तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आउने बाहिरी जिल्लाका नागरिकमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

पाल्पाको हकमा संक्रमितमध्ये सबैभन्दा धेरै तानसेन नगरपालिका र कम संक्रमित तिनाउ गाउँपालिकाका रहेका छन् ।जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत्‌ ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरी सचेतना फैलाउन स्वास्थ्य कार्यालयले परिपत्र गरेको छ ।

डेंगुको संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्छ ।