७ साउन, काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।
श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोड्न सफल भइन् भने मुनिबा अलीले नटआउट ४६ रन जोडिन् ।
नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोड्दा सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडे । कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।
नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिनुहुँदा फातिमा सानाले एक विकेट हात पारिन् । समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ ।एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् ।