|  

साढे ५ केजी अफिमसहित ट्रक चालक पक्राउ 

८ साउन,काठमाडौं । प्रतिबन्धित लागुऔषध अफिम चामलको बोराभित्र लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय मदनप्रकाश गिरी छन् । उनलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको हो । साउन ५ गते राति ९ बजेतिर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १४ छेपारीस्थित भेरी करीडोर सडक खण्डबाट उनी पक्राउ परेका थिए ।

गोतामकोटदेखि बाँकेको नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ क १७८० नम्बरको ट्रक आशंका लागेर चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका थिए । ट्रकको सहचालक बस्ने सिटमुनि चामलको बोराभित्र तीन वटा प्लाष्टिकमा लुकाइछिपाइ लैजान लागेको लागुऔषध अफिम फेला परेको थियो । फेला परेको अफिम तौल गर्दा ५ केजी ५४५ ग्राम रहेको प्रहरीले जनाएको छ  ।