|  

सिमलताल पहिरोअपडेटः भारतीय गोताखोरले पनि तीन दिनदेखि केही भेट्न सकेन 

८ साउन,काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएको दुईवटा बस र ६५ जना बेपत्ता भएको  आज १२ औं दिन पुगिसकेको छ ।

भारतबाट समेत गोताखोरसहितको १२ जनाको टोली र नेपालको सशस्त्र प्रहरीको तालिम प्राप्त टोली, नेपाली सेना, नेपाल प्रहरी मिलेर खोजी गरिरहेका छन्, तर पछिल्लो तीन दिनयता खोजी टोलीले केही भेट्न सकेको छैन । घटनाको ११औं दिनसम्म खोज्दा त्रिशूलीमा हराइरहेका ६२ मध्ये २५ जनाको शव भेटिएको छ ।

बसको नामोनिशान भेटिएको छैन । बाँकी ३७ जना अझै बेपत्ता रहेका छन् । त्रिशूली र नारायणीमा पानीको बहाव उच्च छ । सिमलतालबाट लेदोसहितको पहिरोले बगाएकै दिनदेखि खोजी कार्य चलिरहेको भए पनि बससँग सम्बन्धित सामग्री एउटा पर्दाबाहेक खोजी टोलीले केही पाउन सकेको छैन । भारतबाट आएका १२ जना र नेपालका सुरक्षाकर्मीको टोलीसहित गर्दा करिब ५०० जना उद्धार टोली नदी र किनारामा खोजिरहेको छ ।

तर तीन दिनदेखि केही भेट्न नसक्दा हराइरहेका यात्रु भेटिने सम्भावना पनि कम भइरहेको हो कि भन्ने लाग्न थालेको छ ।असार २८ गते भरतपुर– २९ सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले काठमाडौंबाट गौर जाँदै गरेको गणपती यातायातको ३६ यात्रु बोकेको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको २६ यात्रु बोकेको एञ्जल डिलक्स यातायातको बसलाई एकै पटक त्रिशूलीमा खसाएको थियो ।

गणपती यातायातमा सवार तीन जनाले भने त्रिशूलीमा पौडिएर ज्यान जोगाएका थिए ।बाँकी त्रिशूलीमा हराइरहेका २५ जनाको शव नारायणी किनार, भारतको बिहारको पश्चिम चम्पारणको नदी किनारका विभिन्न स्थानबाट भेटिएको छ । ३७ जना अझै बेपत्ता रहेका छन् ।