|  

भारतको केरलामा निपाह भाइरस भेटिएपछि उच्च अलर्ट जारी

८ साउन,काठमाडौं । भारतको केरला राज्यमा निपाह भाइरस देखिएपछि उच्च सर्तकता जारी गरिएको छ ।

भाइरसका कारण १४ वर्षीय बालकको मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले त्यहाँ अलर्ट जारी गरेका हुन् ।स्थानीय सरकारले मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान अनुरोध गरेको छ । अस्पताल जानै परे उच्च सावधानी अपनाउन भनिएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार थप ६० जनामा भाइरसको जोखिम उच्च देखिएको छ । केरलाको स्वास्थ्य मन्त्री वीणा जर्जले मृतक बालकको सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको जानकारी दिए ।निपाह भाइरस संक्रमण भएपछि मानिसमा ज्वरो आउने , टाउको दुख्ने, मांसपेशी दुख्ने, बान्ता हुने र घाँटीको दुखाइ जस्ता लक्षण देखिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

त्यस्तै कसैलाई भने रिँगटा लाग्ने र निद्रा लागिरहने जस्ता लक्षण पनि देखिन सक्छ । यो भाइरस संक्रमित हुँदा कुनै कुनै अवस्थामा लक्षण नै नदेखिएपनि श्वासप्रश्वास सम्बनधी समस्याहरू हुनसक्ने डब्ल्यूएचओले जनाएको छ ।  उपचारको लागि कुनै औषधि वा भ्याक्सिन उपलब्ध नभएकाले भाइरस सङ्क्रमणबाट जोगिनुनै उत्तम उपाय देखिनछ ।