|  

मानव बेचबिखन पूर्ण रूपमा रोकिनुपर्छः गृहमन्त्री लेखक

८ साउन,काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् ।

मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै उनले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिला नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको उल्लेख गरे । ‘तपाईंहरूलाई भेट्नेबित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,’ उनले भने, ‘त्यो भाव र भावनाका साथ काम गर्नुस् ।’

देशभन्दा बाहिर जाने मानिसलाई बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो । ‘अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनुपर्‍यो,’ उनले भने, ‘गलत ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गरे हुन्छ ।’पछिल्लो समय मानव बेचबिखनका घटना बढेको सुन्नमा आएको उनले बताए ।

त्यसलाई रोक्न सचेततापूर्वक खटिन उनले कर्मचारीलाई निर्देशन दिए । ‘मानव बेचबिखन पूर्ण रूपमा रोकिनुपर्छ,’उनले भने, ‘अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।’ अध्यागन विभागका महानिर्देशक केशहरि निरौलाले आफूहरूले गरिरहेको काम–कारबाही, भावी योजना र चुनौतीका विषयमा जानकारी गराएका थिए ।