|  

नेपालमा ९६ देशका कामदार, सबैभन्दा बढी चिनियाँ नागरिक

८ साउन,काठमाडौं । नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिक रहेको पाइएको छ । 

विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्याङ्क रहे पनि नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग जनाएको हो । नेपालमा सञ्चालन भएका आयोजनाहरूले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा छ ।

नेपालमा रहेका एयरलाइन्स, इलेकट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । नेपालमा रहेका रोजगारदातामध्ये सबैभन्दा बढी विदेशीलाई काठमाडौँ-तराई-मधेस द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रोजगारी दिएको छ ।

पोली चाङ्दा इन्जिनियरिङ कम्पनी, कञ्चनपुर-कमला रोड प्रोजेक्ट, चाइना ओभरसिज इन्जिनियरिङ, साञ्जेन खोला हाइड्रोपावर, हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, ब्रिटिश स्कुल, लिंकन स्कुल, हुवावे टेक्नोलोजीजस्ता सेवा क्षेत्रमा विदेशी नागरिक कार्यरत छन् ।