०८ साउन, काठमाडौं । विद्युत प्राधिकरणले काटिएका ६ वटा उद्योगमा आजै लाइन जोड्ने तयारी गरेको छ ।
ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशकबीच आजै विद्युत् जडान गर्ने सहमति भएको हो। आज मन्त्रालयमा भएको छलफलमा बक्यौता रहेका उद्योगीसँग रकम उठाउने गरी विद्युत् जडान गर्न कुलमान घिसिङ तयार भएको मन्त्रालयका एक अधिकारीले बताएका छन्। ऊर्जामन्त्री र कुलमान घिसिङबीच समझदारी बने पनि केही सञ्चालक समिति सदस्यले असहमति दर्ज गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले काटिएका उद्योगको लाइन तत्काल जोड्न शुक्रबार निर्देशन दिएका थिए। आइतबार र सोमबार संसदमा सम्बोधनका क्रममा लाइन जोड्नुपर्ने भन्दै उद्योगीको पक्षमा खुलेर वकालत गरेका छन्।
प्रधानमन्त्रीको निर्देशन आएसँगै ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरण र सञ्चालक समितिलाई लाइन जोड्नुपर्ने भन्दै २ पटक बोर्ड बैठक राखि सके। तर सहमति हुन सकेन। आज बहुमत सदस्यले लाइन जोड्ने निर्णय गर्ने भएको छ। सञ्चालक समितिमा ऊर्जामन्त्री खड्का अध्यक्ष र ऊर्जा सचिवको जिम्मेवारी सम्हालेकी सरिता दवाडी, अर्थ मन्त्रालयका राजस्व सचिव डा। रामप्रसाद घिमिरे, उपभोक्ता समूहबाट भक्तबहादुर पुन, ऊर्जा क्षेत्रबाट कपिल आचार्य र रतन बहादुर ऐर, उद्योग वाणिज्य महासंघबाट भरतराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सदस्य रहेका छन्।