८ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले त्यहाँ हिंसात्मक आन्दोलन भएको र नेपालीहरु सुरक्षित अवस्थामा रहेपनि त्यसबारे सरकारले संसदलाई विस्तृत जानकारी गराउनुपर्ने बताए।
‘केही दिन अगाडि बंगलादेशमा त्यहाँ आरक्षण सम्बन्धि विषयको विवाद अन्तरगत केही विरोधहरु भयो र त्यसले आक्रमक रुपमा आन्दोलनको रुप पनि लियो। लगभग १५० जना भन्दा धेरैको मृत्यु भयो। नेपालबाट त्यहाँ अध्ययनका लागि गएका धेरै नेपाली विद्यार्थीहरु आपतकालिन अवस्थामा त्यहाँबाट फर्किए। धन्न अहिलेसम्म कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन,’ सांसद झाले भने।
सांसद झाले बंगलादेशमा नेपाली विद्यार्थीहरु धेरै अध्ययनका लागि गएकाले उनीहरुले त्यो हिंसात्मक घटनापछि पीडा भोग्नुपरेकाले सरकारले त्यसबारे सदनलाई जानकारी गराउने र उनीहरुको पीडालाई सम्बोधन गर्नुपर्ने बताए।