|  

५ हजार घुस दिएको घटनाको छानबिन गर्न  निर्देशन  दिइसके : गृहमन्त्री लेखक

८ साउन,काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सांसदले छोराको शैक्षिक प्रमाणपत्र ‘इक्युभ्यालेन्ट’ बनाउन कर्मचारीलाई पाँच हजार घुस दिएको घटनामा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको बताएका छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लेखकले उक्त घटनाबारे आफूले व्यक्तिगत रूपमा सांसद महतोसँग कुरा गरेर ती व्यक्तिको पहिचान गरिदिन आग्रह गरेको भन्दै प्रहरीलाई छानबिनका लागि निर्देशन दिइसकेको बताएका हुन् । 

‘व्यक्तिगत रूपमा पनि मैले उहाँलाई सोधेर त्यो मान्छे चिनाउन सहयोग गर्न आग्रह गरेको छु’, मन्त्री लेखकले भने, ‘प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको छ र यो विषय सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले साउन ६ गतेको प्रतिनिधिसभा बैठकमा आफूले विचौलियालाई घुस खुवाएको सुनाएका थिए ।