|  

आजदेखि काठमाडौं उपत्यकामा विशेष पोलियो खोप अभियान सुरु  

९ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सञ्चालन हुने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो । खोप स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घर-घरमा पुगेर दिइने छ । आजदेखि सुरु हुने अभियान १२ गतेसम्म चल्नेछ ।

पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरका अनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर, ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरको भनाइ छ ।

यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो विरुद्धको खोप नै हो ।  सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रूपमा दिँदै आएको छ ।