|  

शेयर बजार चौपट

१३ फागुन, काठमाडौं । साताको अन्तिम दिन कारोबार हुने दिन आज (बिहीबार) पनि शेयर बजारमा पहिरो गएको छ । आज बिहीबार शेयर बजारमा ४४.९४ अंकको भारी गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१३ मा पुगेको छ । नेप्से १.७३ प्रतिशतले घटेको हो । 

यस्तै, सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर ४६१.८१ मा पुगेको छ । आज कूल २०६ वटा कम्पनीको एक करोड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४ सय १४ रुपैयाँको कारोबार भएको छ । 

त्यस्तै, आज कारोबार गर्नेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । बैंकको ९० करोड ३५ लाख ६७ हजार ५ सय ७७ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर राताम्मै देखिएको छ । आज धेरै कमाउनेमा चन्द्रागीरीका लगानीकर्ता रहेका छन् । कम्पनी ३४ अंकले फाइदामा गएको हो । त्यसैगरी, आज धेरै घाटा खानेमा सनराईज म्युचल फण्डका लगानीकर्ता रहेका छन् । कम्पनी ०.९५ अंकले घाटामा गएको हो ।