|  

विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिने 

१० साउन, काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको छ ।

चालु आर्थिक वर्ष २०८१ / ८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य बीमा गराउन सबै वडामा एक–एकजना बीमा दर्ता सहयोग परिचालन गरिएको छ । गाउँपालिका-१ र २ मा निःशुल्क स्वास्थ्य बीमा गराउने कार्यक्रम सुरु भइसकेको र अन्य वडामा केही दिनभित्रै कार्यक्रम सुरु हुने बताइएको छ ।

गाउँपालिकाले दलित घरपरिवारमध्ये रोजगारीमा रहेका वा सार्वजनिक पद धारण गरेका व्यक्तिका परिवारले भने आफैँले बीमाबापतको रकम बुझाएर अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।

पालिकाले आर्थिक अवस्था कमजोर भएका एवं सामान्यदेखि जटिल स्वास्थ्य समस्यामा परेका समुदायका नागरिकहरुमा सहज स्वास्थ्य सुविधाको पहुँच विस्तार गर्न  निःशुल्क बीमा कार्यक्रम ल्याएको हो ।