|  

समर्थन कायमै राखेर कोशी सरकारबाट बाहिरियो माओवादी

११ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट बाहिरिएको छ ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिन लागेको बताएका हुन् । कोशी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, स्वास्थ्यमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायणबहादुर मगर मन्त्री छन् । यस्तै पर्यटनमा वन्दना झागर राज्यमन्त्री छन् । संविधानको धारा १६८(५) अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मतकुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसैवीच, लामो समयसम्म समर्थन नदिने प्रस्ट पार्दै आङ्बोले उपधारा ५ अनुसार बनेको सरकारको समर्थन लिँदा सबै सांसदहरू भेला हुनुपर्ने भएको कारण पछि धकेलिएको बताए । उनले भनेका छन्,‘अब केही समयपछि हाम्रा मन्त्रीहरूले मुख्यमन्त्रीलाई भेटेर राजीनामा दिनुहुन्छ । तत्कालका लागि समर्थन भने कायमै रहने छ ।’ अब माओवादीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले जिकिर गरे।