|  

राष्ट्रियसभाप्रति मिडियाको चासो कमः राष्ट्रियसभा अध्यक्ष 

११ साउन, काठमाडाैं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सञ्चारमाध्यमले राष्ट्रियसभामा हुने गतिविधिलाई कति प्राथमिकता दिएको छ भन्ने समीक्षा गर्नुपर्ने बताएका छन् ।

आज काभ्रेको धुलिखेलमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रियसभाको गतिविधि सञ्चारमाध्यममा कम प्राथमिकता परेकोमा गुनासो गर्दै यसले आम नागरिक राष्ट्रियसभाको गतिविधिमा सुसूचित हुने अवसरबाट बञ्चित हुने धारणा राखे । उनले सभाका गतिविधि जनतासमक्ष लैजान र नागरिकको सूचित हुने अधिकार सुनिश्चित गर्नमा जोड दिए ।

यसैवीच,अध्यक्ष दाहालले राष्ट्रियसभामा हालसम्म ६१ विधेयक दर्ता भएको त्यसमध्ये ३१ विधेयक प्रमाणीकरण भएको जानकारी दिए । अध्यक्ष दाहालले सरकारी विधेयकको हकमा नेपालमा हालसम्म तीनवटा गैरसरकारी विधेयक ऐन बनेको इतिहास रहेको र ती विधेयक राष्ट्रियसभामै उत्पति भएर ऐन बनेको पनि उल्लेख गरे ।