|  

महिला एसिया कपः भारतसँग श्रीलङ्काको उपाधि भिडन्त

१२ साउन, काठमाडौं । महिला एसिया कपको उपाधिका लागि श्रीलंका र भारत भिड्ने भएका छन् ।

गय राति श्रीलंकाको दाम्बुला क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलील पाहुना टोली पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४ विकेट गुमाएर १४० रन बनाएको थियो । उक्त चुनौती एक बल बाँकी हुँदा श्रीलंकाले ७ विकेटको क्षतिमा १४१ रन बनाउँदै भेट्टाएको थियो । 

यसअघि भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । खेलमा बंगलादेशलाई आठ विकेटमा ८० रनमा सीमित गरेपछि भारतले ११ ओभरमा बिना कुनै क्षति ८३ रन बनाएर एकतर्फी जित दर्ता गरेको थियो । अब आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त भोलि दिउँसो ३ः१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा हुने तय भएको छ ।