|  

मधेश प्रदेशमा दाइजो हटाउन अभियान चलाउनुपर्नेमा मन्त्री साहको जोड

१२ साउन, काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले मधेश प्रदेशमा दाइजो प्रथा हटाउन जातीय सङ्गठनहरू मिलेर अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।

शौण्डिक चौरासी समाजको चौथो महाधिवेशनलाई लहानमा सम्बोधन गर्दै मन्त्री साहले यस्तो जोड दिएका हुन् । उनले तराई मधेशमा विद्यमान दाइजो प्रथा हटाउन सरकारी अभियानले मात्रै सम्भव नरहेकाले समाजका सबै जातजातिका बृहत्तर हितका लागि गठन भएका जातीय सङ्घ संस्थाले यसमा ध्यान दिनुपर्ने बताए । शौण्डिक चौरासी समाजले तेली, हलुवाई, कलवार, जयसवाल, गुप्ता, रौनियार सबैलाई समेटेर वैश्य समाज गठन गरी यसको दायरा बढाए मात्रै राजनीतिक अधिकार र सामाजिक कार्यहरू गर्न सकिने उनको सुझाव छ । 

मन्त्री साहले सप्तरी-१ मा सुँडी समाजका नामबाट सञ्चालनमा ल्याइएको धर्मशालामा सबै जातजातिलाई सामाजिक कार्य गर्न दिइरहेको उदाहरण समेत दिए । उनले भने,‘जातीय सङ्घ संस्थालाई चुनावको समयमा मत सङ्कलन गर्ने कार्यमा मात्रै प्रयोग गर्नु हुँदैन । दाइजो प्रथा हटाउन, मृत्युभोजको दायरा घटाउन, बालबालिकालाई विकृतिको दलदलमा फस्नबाट रोक्न र ज्येष्ठ नागरिकलाई सम्मान दिन काम गर्ने बेला आएको छ ।’