|  

गुगलको दबदबा तोड्न ओपनएआईले ल्यायो आफ्नै सर्च इन्जिन

१२ साउन, काठमाडौं । ओपनएआईले आफ्नै एआई मोडेल जीपीटी फोरओमा आधारित सर्च इन्जिन ल्याएको छ ।

इन्टरनेटमा खोज्ने कार्यलाई चाँडो र भरपर्दो बनाउने दाबी गर्दै ओपनएआईले ‘सर्चजीपीटी’ नामक टुल ल्याएको हो । यस टुलले दिने नतिजा गुगलको एआई ओभरभ्यु अथवा बिङ एआई सर्चको जस्तै देखिन्छ । तर, यसको सर्च रिजल्टमा सूचनाका लिङ्कहरू सहित स्रोत समेत उपलब्ध हुन्छन् । ओपनएआईका अनुसार यसमा प्रयोगकर्ताले फलोअप प्रश्नहरू समेत सोध्न सक्नेछन् । हुन त यी फिचर अहिले पनि च्याटजीपीटीमा उपलब्ध नै छन् । च्याटजीपीटी र सर्चजीपीटीमा फरक युजर इन्टरफेसमा छ ।

कतिपयले सर्च इन्जिनमा गुगलले बनाएको दबदबा तोड्न ओपनएआईले सर्चजीपीटी ल्याएको आँकलन गरेका छन् । यद्यपि सर्चजीपीटी अहिले बेटा प्रोडक्टको रूपमा रहेको छ । त्यसैले सर्च इन्जिनको क्षेत्रमा यसले कस्तो प्रभाव कायम गर्छ भन्ने कुरा हेर्न बाँकी नै छ । अहिले यस टुलमा प्रयोगकर्ता वेटलिस्टमा सहभागी हुन सक्नेछन् ।