|  

चितवनमा डेङ्गु सङ्क्रमित क्षेत्रमा सचेतना बढाइयो

१२ साउन, काठमाडौं । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ । डेङ्गुको सङ्क्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी देखिएको छ । सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको  जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । चितवनमा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।