|  

रुकुम पूर्वमा पहिरोले पोल बगाएपछि चार दिनदेखि बिजुली अवरुद्ध  

१२ साउन, काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिका-६ रानीकोटमा खसेको पहिरोले बिजुलीको पोल ढाल्दा रुकुम पूर्वका नागरिक चार दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् ।

नेपाल विद्युत् प्राधिकरणका दुई हजार पाँच सय ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् । रानीकोट पहिरोका कारण रुकुम पश्चिमको धैरेनीचौर सबस्टेसनबाट रुकुम पूर्वमा ल्याइएको ११ केभीए केन्द्रीय प्रसारण लाइनमा पर्ने चारवटा पोल ढलेका छन् ।

रानीकोट खोपिचारमा गएको साउन ९ गतेको पहिरोले सडक बन्द भएको, निरन्तरजसो पानी पर्ने गरेको र अप्ठारो भिर भएकाले विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको लाइन जोडेका सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाका उपभोक्ता समस्यामा परेका छन् ।
बिजुली र सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।